Interview

‘सबैले आफ्नो अमूल्य मत दिनुहुन्छ, त्यसैले म चुनाव जित्छु’

उर्लाबारी नगरपालिका वडा नं. ५ मा परिचित नाम हो, चन्द्र भट्टराई । २०३८ सालमा अनेरास्ववियू प्राग सचिवबाट राजनीतिक यात्रा प्रारम्भ गरेका भट्टराई रोजगारीको शिलशिलामा झण्डै १० वर्ष दक्षिण कोरियामा बसेका थिए । त्यहाँ बसेपनि मातृभूमिको सेवामा निरन्तर लाग्दै आएका भट्टराई यतिबेला दक्षिण कोरियामा सिकेको सीपलाई वडामा ढाल्ने सोचमा छन् । प्रस्तुत छ, उनै भट्टराईसँग गरिएको कुराकानीका अंशहरू ः
उर्लाबारीमा सबैभन्दा पहिलो सर्वसम्मत उम्मेद्वार बन्नुभयो ? कसरी सम्भव भयो ?
–संसारमा असम्भव भन्ने कुरा नै हुँदैन । प्रयत्न गर्दा जे पनि सम्भव हुन्छ । हामी प्रस्तिस्पर्धी जम्मा ११÷१२ जना थियौं । पार्टीमा योगदान सबै साथीहरूको थियो । पार्टी काममा खट्नु पनि भएको थियो । त्यसमा मिलाउँदै जाँदा मलाई सबै साथीहरुले छोडिदिनु भयो ।
तपाईलाई नै मतदाताले भोट हाल्ने कारण ?
–मैले उर्लाबारीलाई २०४३ सालदेखि नै राम्रोसँग हेर्ने मौका पाएको छु । पढाईको शिलशिलामा उर्लाबारी नजिक रहेको छु । मैले दक्षिण कोरियाबाट आएर उर्लाबारी वडा नं. साविक २ हाल वडा नं. ५ लाई धेरै योगदान गरेको छु । यहाँका सडक निर्माण गर्दा नगरपालिकाबाट छुट्याएको रकमले अपुग भएर बाटो ग्राबेल गर्दा मेरो आफ्नै व्यक्तिगत खर्चबाट पनि योजना सम्पन्न गरेको छु । साना बाटाहरूमा नगरपालिकाले रकम नछुट्याएको अवस्थामा स्थानीय जनतासँग रकम संकलन गरी त्यस्ता बाटा कालोपत्रे गर्न अग्रसर भएर लागेको छु । मैले गरेको कामको मूल्यांकन गरेर मलाई नै मतदाताहरूले भोट दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
चुनाव जित्ने योजना र प्रतिबद्धता के छन् ?
–मैले यो नगरको वडा नं. ५ लाई राम्रोसँग नियालेको छु । यो वार्ड अरुभन्दा निकै भाग्यमानी छ । किनकी यो वडा नं. ५ मा २०÷२५ विघा जग्गा अहिले पनि कास घारीमा परिणत छ । यदी म निर्वाचित भएको खण्डमा त्यस कासघारीलाई एउटा विशाल पार्कमा परिणत गर्नेछु र त्यसलाई उर्लाबारीको एउटा पर्यटकीय क्षेत्र बनाउनेछु । जसले गर्दा वडा नं. ५ का जनताको जीवनस्तर उकास्ने छ । यहाँ धेरैले रोजगारी पाउने छन् र बजारका सारा मानिस त्यसको आनन्द लिन आउनेछन्÷घुम्नेछन् । वडा नं. ५ आर्थिक हिसाबले पनि सम्पन्न हुन्छन् । आधुनिक कृषिको विकास गरिनेछ, सीपमुलक तालिमको व्यवस्था गरिनेछ, पशुपालन, मस्यपालन, तरकारी खेतीको लागि तालिमको व्यवस्था साथै सरकारी अनुदानको व्यवस्था गरिनेछ । मैले दक्षिण कोरियामा देखेको आर्थिक उन्नतिका योजना पनि समावेश गर्नेछु र यो वडा नं. ५ लाई नमूना वडाका रुपमा अरुमाझ परिचित गराउनेछु ।
तपाईको वडामा अवस्था कस्तो छ ?
–यो वडा धेरैजसो भाग अव्यवस्थित, अविकसित र केही विकसित अवस्थामा छ । बक्राहा खोलाले दुःख दिन्छ, पानीको बहावले वडा नं. ५ र ६ पुरै जलमग्न हुन्छ । यही वडाको भुम्राहामा बर्खायाममा टापुजस्तो हुन्छ । वाडीको उत्तिकै जोखिम देखिन्छ । ढल निकासको समस्या, हाटको व्यवस्थापन, कृषिसेवा संस्थाको उचित व्यवस्थापन, ग्राभेल बाटो कालोपत्रे बाटो तथा बाटोको स्तरोन्नतिजस्ता कार्यहरू गर्नुपर्ने छ । कृषि क्षेत्रको उचित संरक्षण गरी कृषि सामग्रीको सहज उपलब्ध, अनुदान, कुलो पैनीको उचित व्यवस्थान गर्नुका साथै खोला तटबन्ध स्थलमा वृक्षारोपण, कृषि क्षेत्र, बजार क्षेत्र तथा बस्ती क्षेत्रको उचित व्यवस्थापन तथा प्रबद्र्धन गर्नुपर्ने हाम्रो लक्ष्य रहेको छ । यो वडामा अत्यन्त धेरै समस्या छन् । समस्याका बाबजुद पनि सम्भावना पनि बढी छन् । मेहनेतका साथ काम गरियो भने ५ वर्षमा रूपरेखा नै बदल्न सकिन्छ ।
चुनाव महंगो हुन थाल्यो भन्छन् नि । कति छुट्याउनुभएको छ ?
–अब महंगो त त्यसै भइहाल्छ नि पहिले पहिले बाटोघाटोको त्यति विकास भएको थिएन । सवारीसाधनको प्रयोग हुँदैन थियो । सबै काम हिडेर गर्नुपर्दथ्यो । प्रचारप्रसारमा उपकरणको प्रयोग हुँदैन थियो । अहिले प्रचारप्रसार, मिडिया, टेलिफोन, पर्चा, पम्पेल्ट, झण्डा, व्यानर इत्यादिले गर्दा महंगो भएको हो । त्यसैले प्रचारप्रसारमा लाग्ने अत्यावश्कीय खर्च मात्र गर्ने अथवा अत्यन्तै न्यून खर्चमा चुनाव सम्पन्न गर्ने हाम्रो योजना रहेको छ ।
चुनाव जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
–म विश्वस्त छु । मैले छरछिमेकदेखि अरू पार्टीमा आस्था राख्ने साथीहरुको विश्वास जितेर काम गरेको छु । मलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपामा आस्था राख्ने साथीहरुले पनि आफ्नो मत दिनुहुन्छ र म पार्टीभित्र पनि सर्वसम्मत रूपमा छानिएको उम्मेद्वार हु । त्यसैले चुनाव जित्नेमा विश्वास्त छु ।
वडाध्यक्ष जित्नु भयो भने यस वडामा गर्ने पहिलो काम के हो ?
–मैले यस वडा नं. ५ मा चुनाव जिते भने सबैभन्दा पहिले धाउन्ने चोकदेखि दक्षिण झुम्राहातिर जाने बाटो र मदन भण्डारीस्मृति प्रतिष्ठान भवनदेखि दक्षिण पटिट्को बाटो निर्माण गर्नेछु ।
तपाईलाई अपरिचित उम्मेद्वार भन्छन् नि ?
–म कमरी अपरिचित उम्मेद्वार हुँ । मैले यस वडामा काम गरेको ७÷८ वर्ष भयो । पार्टीको वडा कमिटिमा दुई कार्यकाल काम गरे । एक कार्यकाल नगरमा काम गरे, अहिले पनि नमुना सप्तकोशी कालोपत्रे उपभोक्ता समितिको सचिव पदमा रहेर काम गर्दैछु र यहाँ मलाई अपरिचित उम्मेद्वार भन्नेहरु भन्दा जनतामा भिजेर काम गरेको छु । उहाँहरूको हरेक समस्यामा सहयोगी बनेर काम गरेको छु र साझेदारी विकास योजनामा एक मुष्ट रकम निकाल्न नसक्नेहरूलाई मैले आफैं रकम हालेर उहाँहरूसँग किस्ताबन्दीमा दिनुहोस् भनेर सहयोगीको भूमिका खेलिरहेको छु भने म कसरी अपरिचित भए ?
चुनाव जित्ने आधारहरू के के छन् ?
–मैले अघि नै भनिसके मैले यहाँको जनताको हरेक दुःखसुखमा साथ दिएर काम गरेको छु । नेपाली कांग्रेस, माओवादी केन्द्रका र राप्रपाका साथीहरू सबैलाई रिजाएर काम गरेको छु । मलाई उहाँहरू सबैले आफ्नो अमूल्य मत दिनुहुन्छ त्यसैले म चुनाव जित्छु ।
र, अन्त्यमा …. ?
–सबै उर्लाबारी नगरपालिकाका मतदाताहरूमा अनुरोध गर्दछु कि यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा मेरो वडा नं. ५ र सबै वडाका साथै नगरमा एमालेले गरेका लोकप्रिय कार्यक्रमलाई मूल्यांकन गरेर अमूल्य मत दिन पुरै टिमलाई विजयी गराउनुहुन अनुरोध गर्दछु ।

June 9, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal