Interview

‘मतदाताहरुको साथ र सहयोग नै मेरो जीतको आधार हो’

भानुभक्त शर्मा पराजुली, उर्लाबारी– ५ मा परिचित नाम हो । पराजुलीलाई स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले उर्लाबारी नगरपालिका वडा नं. ५ बाट अध्यक्षको उम्मेदवार बनाएको छ । बुवा चिदानन्द पराजुलीको प्रेरणाले कांग्रेस राजनीतिमा होमिएका पराजुली २०३६ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । करिब साढे तीन दशक लामो राजनीतिक आरोहणका क्रममा पराजुलीले २०४६ सालदेखि कांग्रेसका हरेक संघर्ष र आन्दोलनमा सक्रियतापूर्वक समर्पित हुँदै आएका छन् । आफूलाई बीपी कोइरालाका अनुयायी र सिपाही भन्न चाहने पराजुली राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । प्रस्तुत छ, स्पष्टवक्ता, विकासप्रेमी तथा जुझारू वडाध्यक्षका उम्मेदवार पराजुलीसँग स्थानीय तह निर्वाचनको सेरोफेरोमा रहेर गरिएको कुराकानीका अंशहरूः
उर्लाबारी नगरपालिका वडा नं. ५ को अध्यक्षका लागि तपाईको उम्मेद्वारी नै किन ?
–उर्लाबारी नगरपालिका भइसक्दासमेत यहाँको वडाले अहिलेसम्म मुहार फेर्न सकेको छैन, जुन वडावासीलाई जानकारी भएकै कुरा हो । अहिले पनि यो वडा कुनै गाउँपालिकाको वडाजस्तो अव्यवस्थित छ । विकास निर्माणले गति लिन सकेको छैन । नदी नियन्त्रण, ढल निकास, तरकारी बजार, सवारी पार्किङलगायतका समस्याको समाधान अझैं पनि हुन सकेको छैन । मनोरम दृष्टिकोणको कुनै पनि पार्क तथा बालउद्यान यहाँ छैन । यस्ता विविध समस्याको समाधान गर्नका लागि यसपटकको स्थानीय तह निर्वाचनमा आफ्नो वडाको विकास वडावासीकै सहभागितामा बनाऊ भन्ने भनाइलाई आत्मसात गर्दै मैले उम्मेद्वारी दिएको हुँ ।
वडाअध्यक्षका रूपमा घरदैलो अभियानमा हुनुहुन्छ, मतदाताको अपेक्षा तथा प्रतिक्रिया कस्तो पाउनुभयो ?
–२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन भएकाले मतदाता मतदान गर्न आतुर र उत्साहित रहेको पाएँ । उम्मेदवारका रूपमा म घरदैलोमा पुग्दा मतदाताहरूले मलाई मतदान गर्ने प्रतिबद्धता पनि देखाउनुभएको छ । वडावासीको अपेक्षा र आशा पनि
धेरै नै रहेको पाएको छु । ‘तपाईप्रति हाम्रो विश्वास, सद्भाव र प्रेम छ’ भनेर मतदाताहरू खुलेर आफ्नो अभिमत प्रकट गरिरहनुभएको छ । यसमा म र मेरो टिम नै औधि खुशी छ । उहाँहरूले यतिसम्म भन्नुभएको छ कि, ‘राजनीतिमा सक्रिय रहेर पार्टी र जनताको सुखदुःखमा साथ दिनुभएको छ, यसपटक हामी अमूल्य मत दिएर विजयी गराउने छौं ।’ एउटा उम्मेद्वारका लागि यहाँभन्दा ठूलो आड–भरोषा र विश्वास अरू के हुनसक्छ र ! अर्काे कुरा मतदाताहरूले वडामा विद्यमान  रहेका नदी नियन्त्रण, ढल निकासी, सुकुम्बासी समस्या, सडक, कल्भर्ट, विजुली लगायतका समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गर्नुभएको छ । यसका लागि म प्रयासरत्त छु र काम गर्नका लागि पनि आतुर छु ।
चुनावी प्रतिस्पर्धामा तपाईं आफूलाई कति योग्य ठान्नुहुन्छ ?
–मैले आफूलाई योग्य र कर्मठ ठानेर नै उम्मेदवारी दिएको हुँ । धेरै वर्षपश्चात स्थानीय निर्वाचन हुन लागेकाले नयाँ स्वरूप र संरचनामा हामी अभ्यस्त भइसकेका छैनौँ । अन्य पार्टीबाट उम्मेदवारी दिनुभएको छ, सबैले योग्य र सक्षम ठानेर नै उम्मेदवारी दिएका हुन्छन् । म प्रतिस्पर्धी मित्रहरूको बारेमा टीकाटिप्पणी गर्न चाहन्न । स्थानीय चुनावको मर्म बमोजिम पार्टीले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्व समृद्धिको अभियान’ भन्ने नारा तय गरेको छ । हामीले सहायक नारा ‘सिंहदरबारको अधिकार गाउँगाउँमाः रूखमा भोट, कांग्रेसको नाउँमा’ तय गरेर प्रचारप्रसार तीव्र बनाएका छौँ । यस निर्वाचन संविधान कार्यान्वयनसँग पनि जोडिएको र कांग्रेस र स्थानीय निर्वाचन एकअर्काका परिपूरक र पर्यायवाचीजस्तै हुन भन्ने मलाई लाग्छ । मैले सामाजिक रूपमा पुर्याएको योगदानले पनि म आफूलाई योग्य उम्मेदवारको दावी गर्न सक्छु ।
मतदाताबीच कत्तिको लोकप्रियता हासिल गर्नुभएको छ ?
–सुरूका केही दिन कताकता असजिलो महसुस पनि भयो । मतदाताको उत्साह र मप्रति गरेको स्नेह देखेर म दंगै परेँ । घरदैलोमा उल्लेख्य संख्यामा पार्टीका सहृदयी साथीहरूको उपस्थिति, उहाँहरूले थप्नु भएको हौसला र मतदाताले दर्शाउनु भएको प्रेमले म ज्यादै भावुक भएँ । किनभने उहाँहरूले अत्यन्तै राम्रो प्रतिक्रिया जनाउनु भयो र मलाई मतदान गरी जिताउने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो । यसले म मतदाताबीच लोकप्रिय छु भन्ने स्पष्ट हुन्छ । अर्काे कुरा, यहीँको स्थानीय भएको, कसैको पनि कुभलो नचिताएका कारण मतदातासँग मेरो सम्बन्ध सुमधुर छ । यहाँका ७५ प्रतिशत मतदातालाई मैले नामद्वारा नै सम्बोधन गर्न सक्ने भएकाले मतदाताबीच म अत्यन्तै भिजेको छु र २५ प्रतिशत मतदाताले मैले गरेका सामाजिक कार्यबाट मलाई नजिकबाट चिनिसक्नु भएको अवस्था रहेको छ ।
तपाईंको नेतृत्वले वडावासीमा कस्तो परिवर्तन ल्याउने अपेक्षा राख्नुभएको छ ?
–मैले नेतृत्व गर्ने अवसर पाएँ भने सर्वप्रथम यस वडाका किशोरकिशोरीमा देखापरेको दुव्र्यसनलाई निरूत्साहित गर्ने छु । साथीभाइको संगत र लहैलहैका  कारण किशोर अवस्थामा दुव्र्यसनको बाटोमा लागेका किशोरकिशोरीलाई चेतना जगाएर सकारात्मक बाटोमा डोर्याउने छु । वडाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने छु । सार्वजनिक स्थलमा बालउद्यानसहित पार्क बनाउने, मठमन्दिर तथा पूर्वाञ्चल बौद्ध गुम्बाको स्तोन्नति गर्नेछु । यस्तै सडकको मर्मतसम्भार र तरकारी तथा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न पकेट एरिया छुट्याएर मल, बीउविजन र यान्त्रिकीकरणको व्यवस्था गरी कृषक दाजुभाइको व्यावसायिक प्रवद्र्धन गर्न सहयोग गर्ने छु । वडामा रहेका अपांगता भएका, एकल महिला तथा विपन्न वर्गका परिवारलाई सीपमूलक तालिमको व्यवस्था गरी जीवनस्तर उकास्न प्रयास गर्ने छु । अव्यवस्थित सुकुम्वासीलाई नगरपालिका, जिल्ला समन्वय समिति र सर्वदलीय समितिमार्फत अन्तरक्रिया गरी उचित बसोवासको प्रबन्ध गर्ने लक्ष्य राखेको छु । स्वास्थ्य सबैको पहुँच पुर्याउन पहल गर्नेछु ।
चुनाव जित्ने संकेत के देख्नुभएको छ ?
–कार्यकर्तामा देखिएको उत्साह र उमङ्ग, पार्टीका साथीहरूको लगनशीलता र क्रियाशीलता हेर्दा चुनाव जित्ने स्पष्ट संकेतहरू देखेको छु । मैले मतदाताबाट आर्जन गरेको विश्वास, घरदैलोमा जाँदा मतदाताले देखाएको स्नेह र ‘रेस्पोन्स’ नै मेरा लागि चुनाव जित्ने आधार हो जस्तो लाग्छ । कांग्रेसका कर्मठ र संगठित मित्रहरूको बलियो आधारक्षेत्र र तटस्थ मत प्रदान गर्ने वडावासीहरूको दर्विलो समर्थनका साथै मेरो व्यक्तिगत सम्बन्धका कारण मैले चुनाव जित्ने बलियो संकेत देखेको छु ।
वडा विकासका लागि तपाईंले कस्तो परिकल्पना गर्नुभएको छ ?
–मैले परिकल्पना गरेका प्रायः कुरा माथि नै उल्लेख भइसकेका छन् । मूलभूत रूपमा मैले गर्ने कामहरू यिनै हुन् । दैनिकरूपमा जनताका बीचमा उठ्ने अभाव र आवश्यकतालाई मध्यनजर गरी विभिन्न सरकारी निकायसँग समन्वय गरी वडाले आर्जन गर्ने साधन र स्रोतको उचित प्रयोग गर्दै पारदर्शीता, जवाफदेहिता र जनसहभागिताका आधारमा वडा विकासको परिकल्पना गर्ने छु । वडावासीले अघिसारेका
जनसरोकारका विषयहरूमाथि सफलता प्राप्त गर्दै समुन्नत वडाको विकासमा रूपान्तरण गर्न सक्छु भन्ने मलाई आत्मविश्वास छ । मैले वडाको बृहत्तर विकासका लागि दीर्घकालिन र तत्काल गर्ने कार्यहरूमा वर्गीकरण गरेको छु । यी योजनाहरूमा  जनतामाझ प्रस्तुत गरिरहेको छु ।
मतदाताको भावना जितेर विजयी बन्ने सुनिश्चितता के देख्नुहुन्छ ?
–एक त म उहाँहरूले नै मन पराएको उम्मेद्वार हुँ । मेरो स्वभाव र बानी व्यवहारबारे मतदातालाई राम्रोसँग जानकारी छ । किनभने मैले उहाँहरूको भावना जितेर काम गर्दै आएको छु । व्यक्तिगत रूपमा कुनै लोभलालच मसँग छैन । व्यक्तिगत, सामाजिक एवं संस्थागत रूपमा मैले गर्दै आएका सामाजिक योगदानको मूल्यांकन गरेर नै मतदाताहरूले विजयी गराउनुहुनेछ ।
अन्त्यमा…… ?
–झुटा आश्वासन बाढेर तथा सम्भव नै नहुने कुरा गरेर भोट बटुल्ने र यस वर्षलाई पुनः ५ वर्षका लागि बन्दक बनाएर पछाडि पार्ने, कुरामात्र गर्ने, काम नगर्ने, खालका भ्रमको खेती गर्ने व्यक्तिहरूको पहिचान गरौं । प्रलोभनमा नपरी निष्पक्ष, विकासप्रेमी, अनुभवी, संघसंस्था चलाएर अनुभव बटुलेका व्यक्तिलाई खुलेर मत माग्न र मतदान गर्न वडावासीमा अनुरोध गर्दछु ।

June 9, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal