Blog, Education

कलामा जमेका हरेन्द्र

भूपेन्द्र तिम्सिनाharendra khatri1
विद्यालयमा सानो कक्षामा पढ्दादेखि नै उनले आफ्नो नाँच्ने रुचीलाई प्रस्तुत गरे । वर्षेनी तिहारमा नाँच हिँडाएर देउसी खेले । हुँदै गएर आफु राम्रो कलाकार बनेर टेलिभिजनमा देखिने सपना बुनेका मोरङको पथरीशनिश्चरेस्थित रिंगुवाका झर्झराउँदा युवा हरेन्द्र खत्री अन्ततः टेलिभिजनको दुनियाँमा चिनिन पुगे ।
उनले काठमाडौंमा संघर्ष गरे र कलाकारिता सिके । ९ वर्षको काठमाडौं बसाईबाट उनले आफुलाई कलाकारितामा खार्ने अवसर प्राप्त गरे । त्यसअघि पूर्वमा ख्याती कमाएर मेचीमहाकाली नाटक यात्रा समेत गरिसकेको गाउँकै कञ्चनजंघा नाट्य समूहमा आवद्ध थिए । त्यहाँ उनले नृत्य सिकाउँथे । पथरीको सृजना कलाकेन्द्रमा सिकेको नृत्यकलाबाट उत्साहित बन्दै उनले त्यसबेला सीएमए पढेर गाउँमा खोलेको औषधि पसलको पेसा समेत छोडेर आफ्नो भित्री रुची रहेको कलाकारितामा केही गर्न काठमाडौं हानिएका थिए । गाउँले कलाकार दाई दिपक खतिवडाको हौसलामा काठमाडौं पुगे । नभन्दै हाँस्य कलाकार गोपाल नेपाल फिस्टेले कोटेश्वरमा सञ्चालन गरेको जीके कलाकेन्द्र नजिकै उनको डेरा पर्न पुग्यो । त्यहाँ उनी सम्पर्क बढाउने र कलामा केही गर्ने योजनामा कलाकेन्द्रमा निस्किए । आफुले गाउँमा नृत्य सिकाएको एकजना चेलाले त्यहाँ नृत्य सिकाउँदा रहेछन् । त्यसपछि त उनलाई त्यहाँ नृत्य सिकाउनका लागि उनै चेलाले सिफारिस गरिदिएपछि हरेन्द्रको कलाकारिताले काठमाडौंमा पदार्पण गर्ने अवसर पायो । हुँदैगर्दा सोही कलाकेन्द्रमार्फत गोपालका साथै जितु नेपाल, शिवहरि पौडेलहरुको समूहले ०६३ सालबाट हाँस्यव्यङ्ग्य टेलिश्रृंखला जिरेखुर्सानी सुरु गर्यो । त्यहाँ हरेन्द्रलाई आवद्ध गरियो । त्यसबाट सबभन्दा पहिले टेलिभिजनमा आउने अवसर पाए । ‘त्यहीँ मैले अभिनय कला सिक्न पाँए । फिल्मी कला बुझें र क्यामेराको एङ्गलिङका कुरा समेत सिकें ।’– उत्साहित हुँदै उनले भने । जिरेखुर्सानीमा उनले अभिनय गरे, प्रोडक्सन हेरे । प्रत्येक वर्षको जाइजात्रे प्रहसनमा उनी पनि छुटेनन् ।
जिरेखुर्सानीका साथै उनले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘लगन जुर्लाजस्तो छ’, नेपाल वानको हाँस्न पाइन्न, च्यानल नेपालको लुकामारीमा पनि अभिनय गरे । तिनमा उनले मुख्य सहायक निर्देशकको भूमिका समेत निर्वाह गर्ने अवसर मिल्यो । नेपाल अमेरिकी च्यानलको शिवहरि पौडेलको निर्देशनमा बनेको ‘कुलबहादुर काका’ मा पनि प्रोडक्सन हेर्दै अभिनय गरे । माग्ने बुढो डटकममा युट्युवबाट प्रसारण हुने ‘हल्का रमाइला’ेमा पनि उनी देखा परे । ६ वटा म्यूजिक भिडिओमा अभिनय र निर्देशन गरेका छन् । सँगसँगै काठमाडौंका ६ वटा नीजि विद्यालयमा नृत्य सिकाउने शिक्षकका रुपमा काम गरे । ठूलो पर्दाको चलचित्र ‘डर’ मा उनले पत्रकारको भूमिका निर्वाह गरे । ‘ठूलो पर्दामा जाने रहर हुँदा हुँदै त्यसमा लामो समय दिनुपर्ने भएकाले आफ्नो हाँस्यव्यङ्ग्य क्षेत्रमा असर पर्ने हुँदा अफर आउँदा आउँदै पनि गइँन ।’– चकलेटी मुहारको मुस्कान छोड्दै उनले भने ।
यसबेला उनी पुन गाउँमै फर्किएका छन् । आफुले सिकेको कलाकारितालाई गाउँमै प्रयोग गर्ने र त्यहीँ व्यवसायिकता समेत खोज्ने सुरमा अहिले हिमशिखर टेलिभिजनबाट ‘दोबाटे’ नामको हाँस्यव्यङ्ग्य टेलिश्रृंखलाको निर्देशनमा छन् । त्यसको शिर्ष भूमिकामा उनी नै छन् । भूपेन्द्र तिम्सिनाको लेखन र निर्देशनमा गत तिहारमा नाटकमार्फत देउसी खेल्ने फरकखाले कार्यक्रमको देउसी नाटक ‘संविधान’ प्रदर्शनको शिलशिलामा नाट्य समूहका पुराना सहकर्मीको जमघट भयो । त्यसबाट नाट्य समूहलाई पुनर्जागृत गर्ने योजना बनेपछि सोही नाट्य समूहको प्रस्तुतीमा ‘दोबाटे’ बन्न सुरु भयो र प्रत्येक विहीबार राती ८ ः३० देखि हिमशिखर टीभीमा प्रसारण सुरु भएको छ । ‘गाउँ अव गाउँ रहेन । गाउँमै बसेर पनि कलाकारितालाई व्यवसायिक बनाउँदै लान सकिने र कलाको क्षेत्रमा आफ्नै ठाउँका लागि योगदान गर्ने योजनामा म घर फर्किएको छु ।’– जागरुकता भरिएको हाँसोका साथ उनले आफ्नो सृजनशिल लक्ष्य बताए ।

December 8, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal