Agriculture, Society, Tourism

तस्करीले उजाडिदै पूर्वको वन

ईश्वर भट्टराई
मोरङ ।
पछिल्लो समयमा पूर्वी मोरङ र पश्चिम झापाको उत्तरी चुरे क्षेत्रका सामुदायिक वनमा बढ्दो काठ तस्करीका कारण उजाड बन्दै गएका छन् ।ban
सरकारले चुरे क्षेत्रमा हुने काठ तस्करी नियन्त्रण र संरक्षणका लागि चुरे संरक्षण योजना ल्याएपनि यहाँ भने तस्करी अझैं रोकिएको छैन । संरक्षणका लागि समूदायमा हस्तान्तरण गरिएका विभिन्न सामूदायिक वनका सयौं हेक्टर क्षेत्रफल काठ तस्करीका कारण उजाड बन्दै गएका हुन् । जिल्ला वन कार्यालय र सरकारी निकायबाट काठ तस्करी नियन्त्रणका लागि चासो नदिएपछि दिउँसै काठ तस्करी हुने क्रम बढेको स्थानीयबासी बताउँछन् । तस्करहरूले चुरे क्षेत्रमा रहेका सामुदायिक वनबाट तस्करले सखुवाका रूख काटेर तराई र भारतका विभिन्न ठाउँमा पु¥याउने गरेका छन् ।ban
वन संरक्षणका लागि सरकारद्वारा खटाइएका वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीहरूकै मिलोमतोमा तस्करी हुने गरेको आशंका गरिन्छ । यहाँ वन संरक्षणका लागि सरकारले अघि सारेको सामूदायिक वनको योजनासमेत काठ तस्करका लागि वैधानिक लाइसेन्सजस्तो भएको छ । एकबेलाका समयमा हरियाली र सुन्दर देखिने यस क्षेत्रका वन अहिले तस्कर र समितिको मनोमानीका कारण उजाड बन्दै गएका छन् । यद्यपि केही सामूदायिक वनका पदाधिकारी भने यसमा अपवाद छन् ।
तर, उत्तरी मोरङको जाँते–३ बेल्टारस्थित नमुना हरियाली सामुदायिक वनबाट ठूलो परिमाणमा वन पैदावर कटान गरी बिक्री गर्ने गरेको रहस्य खुल्न आएको छ । समितिका पदाधिकारीहरूबाटै विभिन्न बहानामा रूख कटान गरी तस्करहरूलाई वन पैदावर बिक्री बितरण गर्ने गरेको स्थानियबासी बताउँछन् । स्थानीयका अनुसार २०६५ सालमा समुदायलाई हस्तान्तरण भएको सामूदायिक वन को नाममा रहेको ९३ हेक्टर वन क्षेत्रमा अवैध रूपमा ठूलो परिमाणमा वन पैदावर कटान गरी बिक्री गर्ने क्रम हुँदै आएको थियो । वन समूहलाई लागेको ऋण फर्साउन यस वर्षमात्र करीब ८९ लाखको वन पैदावर बिक्री गरिएको समूहकी सचिव गीता ढकालले जानकारी दिनुभयो ।
अघिल्लो समितिका अध्यक्ष खगेन्द्र्र फुयालको पालामा विभिन्न कार्यमा खर्च भएको ४३ लाख, ऋण लगानी फिर्ता ९ लाख ७० हजार र लिम्बुवानलाई लगानी फिर्ता गर्न ८ लाख १६ हजार लगायत शिर्षकहरूको ऋण तिर्न अन्य स्रोत नभएका कारण बाध्य भएर वन पैदावर बिक्री गरिएको समूहका अध्यक्ष पुष्पलाल खड्काको भनाइ छ । यस सामुदायिक वनका उपभोक्ता जम्मा ४२ घरधुरी मात्र भएका र जंगल नजिकै उपलब्ध हुनाले छिटो धन कमाउन बिभिन्न बहानामा बन तर्फ सबैको गिद्देदृष्टि परेको सबैको ठहर छ । पश्चिम दिशामा खोला र तीनैंतर्फबाट जंगलले घेरेको यस बस्तिवरिपरिका वन सबैको नजरमा परेको हो । एकबेलाका समयमा हरियाली र सुन्दर देखिने यो वन अहिले तस्कर र समितिको मनोमानीका कारण उजाड बन्दै गएको छ ।
यस्तै, इलाम जिल्लाको दक्षिणी क्षेत्रमा संरक्षणका लागि समुदायमा हस्तान्तरण गरिएका एक सय १० सामुदायिक वनको सयौं हेक्टर क्षेत्रफल काठ तस्करका कारण उजाड बन्दै गएका छन् । झापाको मेची नदीदेखि मोरङको मावा नदीसम्म फैलिएको इलामको चुरे वन क्षेत्रमा वन कार्यालयका कर्मचारी र सामुदायिक वन समूहका पदाधिकारीकै मिलेमतोमा समेत वन फँडानी हँुदै आएको छ ।
चुरे क्षेत्र र पूर्वी तराईका तीन जिल्लासँग जोडिएको इलामको दक्षिणी गाविसमा रहेको ठूलो क्षेत्रफल ओगटेको वनमा हुने तस्करी नियन्त्रणका लागि पर्याप्त स्रोत नभएका कारण समस्या हुँदै आएको वन कार्यालयले जनाएको छ । taskari
गत साताअघि रतुवामाई वृक्षारोपण आयोजनाको जंगलबाट रूख कटान गरी लुकाइरहेको अवस्थामा इलामको चुलाचुलीस्थित कमल खोलाको छेउबाट साल जातको ९ थान काँचो गोलिया काठ बरामद भएको थियो । सशस्त्र प्रहरी बल पाथीभरा गण लखनपुर र रतुवामाई वृक्षारोपण आयोजना केर्खाको संयुक्त गस्ती टोलीले करिब ४० क्युफिट परिमाणको सो काठ बरामद गरेको हो । उक्त काठको मूल्य झन्डै १ लाख ६० हजार रूपैयाँ छ ।
त्यसको केही दिनअघि पनि सोही आसपासको बस्तीमा रहेको गाई गोठ र खोला किनारमा लुकाई राखेको करीब ३५ क्युफिट साखु जातकै काठ रतुवामाई आयोजना र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेला पारेको थियो । यस्तै, रातको समयमा दमक–१ फाल्गुनन्द चोकबाट केही उत्तर बेलडाँगी क्षेत्रबाट ल्याउँदै गरेको अवस्थामा एउटा ट्रयाक्टरसहित करीब सय क्युफिट साखु जातकै काठसमेत प्रहरीले बरामद गरेको छ । काठ र ट्रयाक्टरसँगै एक जना १२ वर्षीय किशोरसहित तीन जनालाई सशस्त्र प्रहरीले काठ ओसारपसारमा संलग्न रहेको भनी समातेर वन कार्यालयको जिम्मा लगाएको थियो ।
त्यसअघि गएको तिहारको मौका छोपेर रतुवामाई आयोजनाकै क्षेत्रमा दिनदहाडै रूख ढाल्दै गरेको अवस्थामा सामुदायिक वनको २४ घण्टे गस्ती टोलीले तस्करहरूलाई फेला पारेको थियो ।
यसरी दिनप्रतिदिन झापाको मध्यवर्ती राजमार्गसँगै जोडिएको रतुवामाई वृक्षारोपण आयोजना र आसपासका क्षेत्रमा पर्ने इलाम तथा झापाका सीमावर्ती वनहरूमा वन अतिक्रमण भइरहेको छ ।

November 22, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal