Tourism

पर्यटकका लागि आकर्षक गन्तव्य : नमस्ते झरना

ईश्वर थापा, धनकुटा
चारवर्ष अघिसम्म सिम्सुवा खोलामा गोठालाहरुमात्रै जान्थे । अनकन्टार त्यो ठाउँमा अरु मानिस जान डराउँथे तर अहिले त्यहि ठाउँमा हुलका हुल मानिसहरु पुग्न थालेका छन् । सिम्सुवा खोलाको अनकान्टार त्यो ठाउँमा मानिसहरुलाई तानेको हो नमस्ते झरनाको आकर्षणले । ८० मिटर उचाईबाट झरेको पानीको फोहरा हेर्न र प्राकृतिक सुन्दरतालाई नजिकबाट नियाल्नका लागि अचेल नमस्ते झरनामा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ । झरना व्यवस्थापन समितिका अनुसार अहिले दैनिक ३ सय भन्दा बढि मानिस झरनामा रमाउन आउने गरेका छन् ।
Namaste-Falls
पूर्वको चर्चित हिलस्टेसन भेडेटार आउने पर्यटकहरु पुग्ने एउटा गन्तव्य नै बनेको छ नमस्ते झरना । विराटनगरबाट भेडेटार घुम्न आएका सञ्जिव गुरागाँईको भनाईमा झरनामा नआएको भए भेडेटारको यात्रा अधुरै हुने थियो । ‘पहिले झरनाको विषयमा साथीहरुबाट सुनेको थिएँ राम्रो छ भन्थे । यसपटक आउने मौका मिल्यो’ गुरागााईले अनुभव सुनाए । सुनेको भन्दा पनि धेरै राम्रो पाएँ ।

नमस्ते झरनामा अहिले किशोर किशोरीदेखि उमेर ढल्कदै गरेका प्रौढहरु समेत आउन थालेका छन् । कोशी, राजमार्ग नजिकै रहेकाले शैक्षिक भ्रमण, वनभोजजस्ता कार्यक्रमहरु नमस्ते झर्नामा हुने गरेका छन् । माया, पिरतीका कुरा साटासाट गर्ने जोडीहरुको यहाँ घुईचो नै लाग्ने गरेको छ । विभिन्न कार्यक्रमका सन्दर्भमा दैनिक एक दर्जनभन्दा बढीको समुहमा रउसे–घुमन्तेहरु आउने गरेको झरना व्यस्थापन समितिका सदस्य पञ्चेश्वर लिम्बूले बताए ।

पर्यटकीय क्षेत्रको विकासको लागि जिल्ला विकास समितिले १९ वर्ष अघि नै सूचिकृत गरे पनि प्रचारप्रसार नहँुदा यो झर्ना ओझेलमा परेको थियो । घुम्न आउने पर्यटकहरुलाई विश्राम गर्ने र झर्नासम्म जाने बाटो समेत थिएन । खाजा खानलाई कुनै होटल थिएन तर अहिले रुप फेरीएको छ । झर्नाको प्रवेशद्धारमै साना ठुला गरी १ दर्जन भन्दा बढि होटल सञ्चालन भईरहेका छन् । झर्नासम्म जाने बाटो फराकिलो भएको छ । खोलाको अफ्ठ्यारो ठाउँमा भर्याङ्ग¨ लगाइएको छ । पर्यटन विकासका लागि काम भईरहेकाले गर्मीको बेला घुम्न आउने एउटा गन्तव्यको रुपमा नमस्ते झर्ना परिचित हुन थालेको व्यवस्थापन समितिका सदस्य लिम्बूले बताए ।

यो ठाउँको विकासको लागि जिल्ला विकास समितिले नियमित लगानी गरिरहेको छ । पर्यटन विकास कार्यालय र होटल एशोसियसन भेडेटारले पनि झरनाको विकास र प्रचारका लागि सहयोग गरिरहेका छन् । पर्यटन विकास कार्यालयको सहयोगमा झरना नजिकै नुहाएपछि कपडा फेर्नका लागि चेञ्जिङ रुम समेत बनाइएको छ । झर्ना व्यवस्थापन समितिको पहलमा बालबालिकालाई खेल्नका लागि बाल–उद्यान निर्माण गर्ने तयारी समेत भइरहेको छ ।

नमस्ते झर्नामा पर्यटक आउन थालेपछि जिल्ला विकास समितिको गतिलो आम्दानी स्रोत पनि बनेको छ । जिल्ला विकास समितिले झर्ना प्रवेश शुल्कबाट वार्षिक अढाई लाख रुपैँया भन्दा बढि राजस्व सङ्कलन गरिरहेको छ । यो रकम झरनाको विकासका लागि नै खर्च गरिरहेको जिल्ला विकास समितिका वरिष्ठ कार्यक्रम अधिकृत सिताराम गौतमले जानकारी दिए ।

यसै बीच नमस्ते झरनामा जाने पर्यटकहरुलाई प्राकुतिक जोखिम भने उच्च हुने गरेको छ । ठाडो खोला भएकाले चिप्लिएर लड्ने र हात खुट्टामा चोट लाग्ने सम्भावना धेरै हुने गरेको छ । त्यस्तै झरना भएको ठाउँ अनाकन्टार भएकाले माथिबाट ढंङ्गा झरेर लाग्ने सम्भावना पनि रहेको छ । जङ्गलमा गाई बाख्रा चर्ने भएकाले माथिबाट पटक पटक ढुङ्गा झर्ने गर्दछन् । ३ वर्ष यता माथिबाट ढुङ्गा झरेर ५ जना पर्यटक घाईते भइसकेका छन् त्यसैले एक्लै जान जोखिमपूर्ण हुने स्थानियबासी बताउँछन् । पटक पटक यो समस्या आएपछि झरनामा पर्यटकहरुलाई जानुभन्दा पहिले नै जोखिमको विषयमा जानकारी दिन थालिएको छ । झरना वरपर गाई, बाख्रा चराउनका लागि बन्देज लगाउने प्रयास सुरु भएको छ । त्यस्तै, झरना वरपरको क्षेत्रमा खस्ने ढुङ्गा रोक्नका लागि वृक्षारोपण गर्ने कार्य समेत हुन थालेको छ ।

September 12, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal