Blog

युवाशक्ति र नेपालको शान

ईश्वर भट्टराई
अगष्ट १२ अर्थात अन्तराष्ट्रिय युवा दिवस । मुलुकभर ‘समृद्ध विश्व निर्माणका लागि युवासँग साझेदारी (Bulding a better world, partnering with youth)Ú ’ भन्ने मूल नाराका यो दिवस मनाइएको छ । 10385231_560296207416314_2053139484_n
संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९९९ मा हरेक वर्ष १२ अगष्टलाई अन्तराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ बाट मात्र मनाउन थालिएको हो । युवा दिवस मनाइराख्दा, नेपालका ग्रामीण क्षेत्रमा भने युवाहरू हातका औंला गन्न सीमित छन् । गाउँमा १८ पार गरेका युवाहरू विरलै भेटिन्छन् । केही वर्ष अघिको घटना हो, एउटा गाउँमा मरेको मान्छेको लास उठाउन समेत छिमेकी गाउँसम्म युवाको खोजी गर्नुपरेको थियो । यो विडम्बना अझैं पनि हाम्रो गाउँघरमा विद्यमान छन् । मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासमा युवाहरूलाई समावेश गर्न नसक्दा मुलुकले यो नियती भोग्नुपरेको यथार्थ छ । यसरीनै युवालाई विदेश जानबाट रोकिएन भने देशको लागि अति घातक हुनेछ ।
युवाजनशक्तिलाई आर्थिक उपार्जन, सामाजिक विकास तथा राजनीतिक क्षेत्रमा अवसर दिनुपर्दछ । युवालाई आर्थिक विकासको अभियान, सामाजिक क्षेत्रमा सक्रियता तथा राजनीतिक क्षेत्रमा अवसर दिनका लागि विभिन्न मापदण्ड र नीतिनियम पनि नबनेका होइनन् । तर, दुर्भाग्य, यो सबै कागजमै सीमित छन् । नेपाली युवाहरूको क्षमता, योग्यता र योगदानको उचित कदर हुन नसक्दा युवाहरू बेरोजगारीको समस्यामा गुज्रिरहेका छन् । स्वदेशमा पर्याप्त रोजगारी तथा अवसर नहुँदा समृद्ध जीवनको कल्पनाका गर्दै विदेशी भूमिमा होमिन बाध्य छन् । यसरी रोजगारीमा विदेसिनेको संख्या दैनिक १५ सयको हाराहारीमा रहेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०÷०७१ मा ५ लाख २७ हजार ८ सय १५ जनाले मुलुक छाडेका छन् । यस्तै आर्थिक वर्ष २०६९÷७० मा ४ लाख ५० हजार २७ जना कामदार विदेशिएका थिए । अझ अवैधानिक तरिकाबाट बाहिरेको संख्या भने तथ्यांकमा उल्लेख छैन । तर, विडम्बना सरकार भने रेमिट्यान्सको लोभमा परेर यसलाई गौरब ठान्दै आएका छ । रोजगारीमा गएका युवाहरूको श्रमपसिनासँग गासिएको रेमिट्यान्सले अर्थतन्त्रलाई धानेपनि यो मुलुकका लागि भने दुर्भाग्य नै हो ।
राष्ट्रिय युवानीतिअनुसार १६ देखि ४० वर्ष उमेर समूहकालाई युवा भनि परिभाषा गरिएको छ । यो संख्या ३८ दशमलव ८ प्रतिशत रहेको छ । सामान्यतया आर्थिक रूपले सक्रिय रहने १६–५९ वर्षको उमेरलाई पनि युवा मान्ने गरिन्छ । तर, विश्वव्यापी मान्यताअनुसार १८ देखि ४० वर्षसम्मकालाई युवा भन्ने गरिन्छ । २०६८ सालको जनगणनाअनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख मध्ये १५ देखि ४५ वर्ष उमेर समूहका १ करोड २० लाख ९५ हजार १ सय ५० जना युवा छन् । तर, हाम्रो मुलुकमा राजनीतिमा ६० वर्ष काटेका लागि युवा भनेर सम्बोधन गर्ने गरिन्छ । उमेरले नेटो काटिसकेको नेताहरू पार्टीपक्ति, सरकार एवं विभिन्न नेतृत्वतहमा हावी हुनाले युवाहरू भूमिकाविहीन छन् । युवाको सक्रियता सक्रियता, जोश र जाँगरलाई नेताहरूले स्वार्थमा मात्र प्रयोग गर्ने गर्छन् । आन्दोलनदेखि शक्ति प्रदर्शनसम्म सबै दलले युवा शक्तिलाई हौस्याउने गरेका छन् । इतिहासलाई केलाउँदा मुलुकमा भएका परिवर्तनमा युवाहरूले अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । इतिहासको पानालाई पल्टाउँदा युवाले चाहेमा कुनैपनि काम असम्भव छैन भन्ने प्रमाणित भईसकेको छ । तर, यति हुँदाहुँदै पनि युवाहरूमाथि कुठाराघात हुँदै आएको छ ।
युवाको जनसंख्यालाई आधार मान्ने हो भने, राजनीतिमा युवाको प्रतिनिधित्व अत्यन्तै कम छ । त्यसमा पनि महिलाको सहभागिता झन कम छ । युवाले देशलाई निकास दिन नयाँ सोच, जाँगर र इच्छा हुनु पर्ने भन्दै अबको नेतृत्व युवा पुस्ताले लिनु पर्ने माग सर्वत्र उठिरहे पनि निर्णायक तहमा बसेका पुराना पुस्ताले त्यसमा पट्क्कै ध्यान दिएका छैनन् । लामो सयमदेखि एकछत्र राज गर्दै आएका पुराना पुस्ताले अझैं पनि राजनीतिमा एकाधिकार जमाइ रहेका छन् । युवाको सहभागिता शासन सत्तादेखि पार्टी आन्तरिक रूपमा पनि सहभागिता ज्यादै कम छ । राजनीतिमा सक्रिय युवा पनि आफ्नै पार्टीभित्रका गुट उपगुट भन्दा माथि उठ्न सकेका छैनन् ।
गत संविधानसभाको निर्वाचनलाई समिक्षा गर्दा उक्त संविधानसभामा पनि युवालाई घेराबन्दी नै गराइयो । प्रत्यक्ष तथा समानुपातिक सूचीमा युवालाई सम्मानजनक तवरबाट समावेश गरिएन । समावेश गरिएका युवा पनि लामो संघर्षबाट आएका थिए । संविधानसभामा जम्मा १८ जना मात्र युवा नेता प्रत्यक्षतर्फको निर्वाचनबाट निर्वाचित भए । यो संख्या अघिल्लो संविधानसभामा भन्दा पनि कम हो । यस्तै, ४५ मुनिका ५५, ४१ देखि ५९ उमेर समूहमा १ सय ७० जना र ६० वर्षमाथिका ५३ जना सभासद् छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने औसत सभासदको उमेर ५० देखि ६० को रहेको छ । यसरी संविधानसभामा पनि युवाभन्दा पाका नेताहरूको प्रतिनिधित्व बढी देखिन्छ ।
हिमाल, पहाड र तराई भौगोलिक रूपमा तीन भागमा विभाजित हाम्रो देश नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । अन्नको भण्डार मानिने तराई, नगदेबालीका रूपमा मनग्गे आर्जन गर्न सकिने पहाड, दुर्लभ हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिने हिमाल, असंख्य खोलानाला छन्, जहाँ कृषि, जलविद्युत, पर्यटनको प्रचुर सम्भावना छ । यहाँ बग्ने हजारौं नदीनालाबाट ८४ हजार मेघावाट विद्युत उत्पादन गर्न सकिन्छ । कृषि र पर्यटनबाट नै आर्थिक क्रान्ति सम्भव छ । तर, कृषि क्षेत्रमा उही परम्परागत प्राणली, सडक तथा प्रचारप्रसारको अभावले पर्यटकीय क्षेत्रहरू सुनसान नै छन् । कृषि, पर्यटन तथा जलविद्युतको क्षेत्रमा लगानीको वातावरण बनाइ युवालाई अवसर दिन सके आज कयौं नेपाली युवायुवतीले बेरोजगारीका कारण टाउँकोमा हात राखेर सोच्नुपर्ने अवस्था आउने थिएन होला ?
अब संविधानमा युवाको भूमिकाका विषयमा बहस चलिरहेको छ । संविधानमा युवाहरूको भावनालाई समेट्न विभिन्न प्रयासहरू पनि भइरहेका छन् । त्यसैले समृद्ध नेपाल निर्माणका लागि सबै युवा मिलेर सकरात्मक भावलाई अगाडी सार्दै नकरात्मक सोच विचार त्यागौं र समुन्नत नेपालमा निर्माणमा अघि बढ्ने बेला आएको छ ।

August 13, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


ONE COMMENT ON THIS POST To “युवाशक्ति र नेपालको शान”

  1. Ramesh Karki says:

    Ramro Lekh Keep it up……

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal