Health

अर्धचेत अवस्थामा पुगेका देबेन्द्र बोल्न थालेपछि परिवारमा हर्ष

सरोज बस्नेत, उर्लाबारी

२५ बर्षे युवा देबेन्द्र तामाङ गत पौष ४ गते विजुलीको पाइप जडान गर्ने क्रममा तीन तल्लाबाट खसे । उर्लाबारी–७ स्थित प्रकाश चोङबाङको घरमा पाइप जडान गर्ने क्रममा उनी लडेका थिए । दैनिक मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका उर्लाबारी–६ का देबेन्द्र तीन तल्लाबाट खस्दा अचेत बने ।

तत्काल स्थानीय अरनिको हस्पिटल प्रा.लि. मा उपचारका लागि लगियो । त्यसपछि त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो हस्पिटल विराटनगर पुर्याइयो । त्यहाँ पनि डाक्टरहरुले उपचार सम्भव नभएको बताएपछि नोबेल हस्पिटल विराटनगर पुर्याइयो । त्यहाँ पनि उपचार हुन सकेन । त्यसपछि तामाङ परिवारले अचेत अवस्थामा रहेका देबेन्द्रलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याए । त्यहाँ पनि डाक्टरहरुले उपचार हुन नसक्ने र काठमाडौं वा भारत लैजान सुझाव दिए । लडेको देख्ने, सुन्ने सबैले देबेन्द्र बाँच्छन् भन्ने कल्पना पनि गरेनन् । देबेन्द्र त्यतिबेला मुर्दा जस्तो नै बनिसकेका थिए । अक्सिजनको सहाराले सास भने अडिरहेको थियो । बयोबृद्ध आमाबुवाको अवस्था देखेर उर्लाबारी क्षेत्रका युवा ब्यवसायी प्रभू राईको मन थामिएन । त्यसपछि उनले आफूसँग भएको दुई लाख रुपैयाँ लिएर तत्काल पौष ५ गते देबेन्द्रको उपचारका लागि नर्थ बेङ्गल न्यूरो हस्पिटल सिलगुडी पुर्याए । त्यसपछि तामाङ परिवारमा देबेन्द्र बाँच्ने आशा पलायो । ब्यवसायी राईकै नेतृत्वमा देबेन्द्र बचाउ अभियान पनि सुरु भयो । तामाङ परिवारले पनि सहयोगको याचना गर्दै सहयोगी हातहरु फैलाए । देशविदेशबाट सहयोग जुट्यो । उपचारका लागि सिलगुडी पुर्याएको एक महिना पुग्दा पनि देबेन्द्रको स्वास्थ्यमा केही सुधार भएन । तर, पैसा खर्च हुने क्रम जारी रह्यो । परिवारमा रहेका दुई बयोबृद्ध आमाबुवा र गत बैशाखमा विहे गरेकी १७ बर्षीया देबेन्द्रकी पत्नीको आँखामा आँसु रोकिएन । देशविदेशबाट स्वास्थ्य लाभको कामना गर्दै सहयोग जुट्ने क्रम जारी नै रहेको थियो । सहयोगले मात्र देबेन्द्रको उपचार हुन सक्ने अवस्था बनेन । त्यसपछि छिमेकीहरु जमानी बसेर ऋण खोजेर पनि उपचारका लागि भारत पैसा पठाए । माघ १० गते देबेन्द्रको उपचारमा सुधार भएको खबर सार्वजनिक भएपछि आमाबुवाको मात्र होइन सहयोगीदाताहरुको मुहारमा पनि खुशी छायो ।

देबेन्द्रको स्वास्थ्य अवस्थामा सुधार आएपछि उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलसहितको टिम अस्पतालमै पुगे । त्यसपछि डाक्टरकै सल्लाह बमोजिम देबेन्द्रलाई माघ १९ गते घर ल्याइयो । उनी अहिले घरमै स्वास्थ्य लाभ लिइरहेका छन् । मुर्दा अवस्थामा पुगेका देबेन्द्र यतिबेला बोल्न थालेपछि परिवारमा खुशी छाएको छ । करिब १२ लाख रुपैयाँ उनको उपचारमा खर्च भएको छ । देशविदेशबाट करिब ६ लाख रुपैयाँ सहयोग संकलन भएको थियो भने सोही हाराहारीमा ऋणपान गरिएको पारिवारिक स्रोतले जनाएको छ । उर्लाबारी–६ मा घर भाडामा बस्दै आएका यी तामाङ परिवारलाई थप छोराको उपचार र ऋण कसरी तिर्ने भन्ने कुराले बयोबृद्ध अवस्थामा रहेका आमाबुवालाई सताइरहेको छ । बचाउ अभियानका संयोजक प्रभू राईले सहयोगीदाताहरुप्रति धन्यवाद प्रकट गर्दै थप उपचारका लागि सहयोग गर्न अपिल गरेका छन् । देशविदेशमा रहेका नेपालीहरुको साथ र सहयोगका कारण देबेन्द्र बाँच्न सफल भएको उनको भनाई छ ।

February 7, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal