Agriculture

च्याउ उत्पादनबाट उदाहरणीय बन्दै बस्नेत दाजुभाई

च्याउ खेती गरेर मोरङको उर्लाबारीका देबेन्द्र बस्नेत र गोपाल बस्नेतले अहिले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । च्याउ खेतीबाट मासिक एक लाख रुपैयाँ आम्दानी गर्न सफल कृषकहरु मिहिनेत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् ।
उर्लाबारी–७ का ३५ बर्षीय देबेन्द्र बस्नेत र ३२ बर्षीय गोपाल बस्नेत विगत चार बर्षदेखि ब्यवसायिक रुपमा च्याउ खेती गरिरहेका छन् । स्वदेशमै केही गर्न सकिन्छ भन्ने आँटले च्याउ खेती गरेर मासिक लाख रुपैयाँभन्दा बढी कमाउन सफल भएपछि ३०÷४० हजार रुपैयाँका लागि विदेशमै जानु नपर्ने देबेन्द्रको भनाई छ । सहोदर बस्नेत दाजुभाई मिलेर आधुनिक च्याउ उद्योग सञ्चालन गर्दै आएका छन् । १८ बर्षदेखि च्याउ खेती सञ्चालन गर्दै आएको भएपनि ब्यवसायिक रुपमा ४ बर्षदेखि उत्पादन गर्दै आएको देबेन्द्रको भनाई छ । १ हजार रुपैयाँबाट थालेको च्याउ खेती यतिबेला एक करोडको लगानीमा सञ्चालन भइरहेको उनले जानकारी दिएका छन् । उनीहरुले च्याउ बिक्री वितरणका लागि दुई वटा गाडी किनेका छन् । दैनिक ३ देखि ५ सय केजीसम्म च्याउ उत्पादन गर्दै आएका बस्नेत दाजुभाईले अन्य च्याउ उत्पादकको दैनिक ३ सय केजीसम्म च्याउ खरिद गरी बिक्री गर्ने गरेका छन् । च्याउको साथै विउ पनि उत्पादन गर्दै आएको गोपाल बताउँछन् । उनीहरुले दैनिक ५० हजारभन्दा बढीको च्याउ तथा ४० हजार हाराहारीको बिउ बिक्री गर्ने गरेका छन् । काठमाडौं, पोखरा, हटौडा, मकवानपुर, महेन्द्रनगर, दाङलगायत पूर्वका अधिकांश स्थानहरुमा च्याउको बिउको विक्री गर्ने गरेको देबेन्द्र बताउँछन् । उनीहरुले कन्यू, डल्ले, सिताके, हवाइट मिल्के र पिङ्क च्याउ उत्पादन गर्दै आएका छन् । १० कट्ठा क्षेत्रफलमा च्याउ खेती गर्दै आएका यी दाजुभाईले २५ जनालाई रोजगारीसमेत दिएका छन् । उनीहरुलाई प्रतिब्यक्ति ८ हजारदेखि १५ हजारसम्म तलब दिने गरेको देबेन्द्र बताउँछन् । ३०÷४० हजार रुपैयाँ कमाउन हाम्रा दाजुभाईले मरुभूमीमा रगत बगाउनुभएको खबर दिनहुँ सुनेका छौँ देबेन्द्र थप्दै भने–‘ हामीले आँट लिएर यही श्रमपसिना बगाएर लाख रुपैयाँ कमाएका छौँ ।’
जुनसुकै समयमा च्याउ खेतीका लागि उपयुक्त मौसम भएकाले आफ्नै जग्गामा उनीहरुले खेती गर्दै आएका छन् । च्याउ प्रतिकिलो खुद्रा दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ । उनीहरुले पूर्वाञ्चलमै पहिलो पटक च्याउ बोयल प्रविधिको प्रयोग गरेका छन् । सो प्रविधिबाट एकै पटकमा ६ वटा ड्रममा पराल बोयल गर्न सकिने जनाइएको छ । प्रबिधिबाट ७० प्रतिशतसम्म इन्धन बचत गर्न सकिने देबेन्द्र बताउँछन् । र्यापिङ मेसिन नहुँदा उत्पादित च्याउलाई स्टोर गर्न नसकेको उनले गुनासो गरे । च्याउ उत्पादन बढी हुँदा त्यसलाई बजारमा बिक्री गर्न समस्या हुने गरेको उल्लेख गर्दै च्याउ खेतीबाटै मनग्गे कमाई गर्न सकिने उनको अनुभव छ । आफ्नै देशमा केही गरौं भन्ने उद्देश्यले विगत १८ बर्षदेखि च्याउ खेती गर्दै आएको देबेन्द बताउँछन् । उनका भाई गोपाल चार बर्ष साउदी बसेर फर्किएका हुन् । उनी चार बर्षअघि स्वदेश फर्किएर च्याउ उत्पादनमा दाजु देबेन्द्रलाई सहयोग गर्दै आएका छन् । विदेशको भन्दा आफ्नै देशको कमाईप्रति उनी सन्तुष्टि छन् । ब्यवसायिक रुपमा च्याउ उत्पादन गर्दै आएको भएपनि अहिलेसम्म सरकारी अनुदान नपाएको बस्नेत दाजुभाईको गुनासो छ । ‘च्याउ खेती गर्नेभन्दा पनि अन्यलाई अनुदान दिने प्रवृत्ति छ’ देबेन्द गुनासो गर्दै भने–‘ काम गर्ने कालु मकै खाने भालु भने जस्तै भएको छ ।’ एक बर्षअघि जिल्ला कृषि कार्यालय मोरङमा अनुदानका लागि माग गरेपनि कुनै सुनुवाई नभएको उनले बताएका छन् । २०५३ सालमा झापा बाहुनडाँगीका हिरन्डे भट्टराईसँग च्याउ खेतीका बारेमा औपचारिक प्रशिक्षण लिएका देबेन्द्र सफल च्याउ कृषकका रुपमा पूर्वमा कहलिएका छन् । उनको च्याउ झापाको विर्तामोडदेखि सुनसरीको धरानसम्मका बजारमा पुग्ने गरेको छ । अन्य किसानहरुको च्याउलाई पनि बिक्री वितरण तथा च्याउ खेती परामर्शमा सहयोग गर्दै आएका देबेन्द्रले च्याउको लागि अति आवश्यक पर्ने पराल, भुसी र बाँसको खरिद लगायतमा पनि विशेष ध्यान दिने गरेका छन् । उनको उद्योगमा उत्पादित च्याउको सुकुटी विदेशमा पनि निर्यात हुने गरेको छ । आफ्नै देशको कृषि पेसामा रमाएका बस्नेत दाजुभाईले अझै व्यवसायलाई विकास र विस्तार गर्ने सोच बनाएका छन् । पराललाई काटेर तातोपानीले सफा गरी विशेष प्रकारले प्लाष्टिकमा प्याकिङ्ग गरेर च्याउको बिँउ छोडेको केही दिनमा च्याउ उमरिने गर्दछ । सरकारले च्याउ खेतीमा ध्यान पुर्याएर कृषकलाई आवश्यक सहयोग गर्दै च्याउको प्रसोधन केन्द्र स्थापना गरी ल्यावको समेत व्यवस्था गर्न आवश्यक छ । नेपाल उद्योग वाणिज्य महासंघको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम अन्तरगत उर्लाबारीलाई च्याउ पकेट क्षेत्र बनाउने पहल भइरहेको छ । उर्लाबारी उद्योग वाणिज्य संघको पहलमा ‘एक गाउँ, एक उत्पादन’ अन्तरगत उर्लाबारीमा च्याउ खेतीलाई रोजिएको थियो ।

 

August 23, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal