Interview

स्वस्तिक छापहरूलाई मूल्यांकन गर्दा अन्तरघात भएको पूर्णरूपले पुष्टि हुन्छ:अधिकारी

 

ललित अधिकारी, पूर्वी उत्तर मोरङका प्रभावशाली नेता हुनुहुन्छ । मोरङ जिल्लाको साविक जाँते गाविस वडा नं. ३ नामसालिङमा पिता डिल्लीबहादुर र माता हरिलक्ष्मी अधिकारीको कोखबाट २०२३ सालमा जन्मनुभएका उहाँ विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । हाल उर्लाबारी वडा नं. ५ को स्थायी बासिन्दा रहनुभएका अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि औपचारिक रूपमा कांग्रेसमा आवद्ध हुनुभयो । पारिवारिक तथा समाजसेवी धनबहादुर कार्की लगायतको प्रेरणाबाट कांग्रेसमा आवद्ध भएको बताउनुहुने उहाँ पार्टीको विभिन्न पदमा रहेर कुशलतापूर्वक नेतृत्व गर्दै आउनुभएको छ । अधिकारी २०५३÷०५७ सालसम्म उर्लाबारी गाउँ उपसभापति, तरूण दल मोरङ जिल्ला सदस्य र २०५७÷०६२ सालसम्म उर्लाबारी गाउँ सभापति, २०६३ मा मोरङ निर्वाचन क्षेत्र नं. २ सभापति हुँदै १२ र १३ औं महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित हुनुभयो । २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ९ बाट समानुपातिकतर्फको उम्मेद्वार बन्नुभएका उहाँ मोरङ जिल्लामै समानुपातिकतर्फ बढी मत प्राप्त गरेपनि पार्टीभित्रको आन्तरिक व्यवस्थापनका कारण सभासद् हुनबाट रोकिनुभयो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको अनुशासन समितिको संयोजक भई काम गर्नु भएका अधिकारी स्थानीय स्तरमा नेपाल रेडक्रस सोसाइटी, उर्लाबारी बहुमुखी क्याम्पस लगायतका विभिन्न संघसंस्थाहरूमा सल्लाहकारमा रहेर पनि सहयोग पुर्याउँदै आउनुभएको छ । प्रस्तुत छ, अधिकारीसँग नेपाली कांग्रेस र समसामयिक राजनीतिक विषयमा गरिएको कुराकानीका अंशहरू ः
नेपाली कांग्रेस नै किन रोज्नुभयो ?
नेपालको राजनीतिक इतिहास तथा समकालिन स्थितिमा नेपाली कांग्रेसले राजनीतिक परिवर्तन तथा विभिन्न चरणहरूमा भएका परिवर्तनका जनआन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । राष्ट्र र जनताको हक अधिकारका लागि निरंकुसताबाट शासन खोसेर जनतालाई हस्तान्तरण गर्ने पार्टी भएकाले मैले कांग्रेसलाई नै रोजेको हुँ । साथै मेरा स्व. पिता डिल्लीबहादुर अधिकारीको लगाव पनि नेपाली कांग्रेसप्रति नै रहेकाले त्यसबाट पनि मलाई प्रेरणा प्राप्त भयो । त्यसपछिको श्रेय स्व. धनबहादुर कार्की लगायतका कांग्रेसका प्रजातान्त्रितक सेनानीहरूको प्रेरणा पनि म कांग्रेस बने ।
स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकामा नेपाली कांग्रेसले सबैभन्दा धेरै वडामा विजयी हासिल गर्नुको कारण के लाई मान्नु भएको छ ?
नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार खड्ग फागो पार्टीको क्षेत्रीय सभापति पनि हुनुहुन्छ । युवा व्यक्तित्व, जुझारू क्षमता भएको, राजनीतिक परिवर्तनकारी भूमिका खेल्न सक्ने भएको र गरीब निमुखा, दिन दुःखीहरूको पक्षमा आवाज उठाउने व्यक्ति भएकाले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर बढी छ । सँगसँगै पार्टीका कर्मठ साथीहरू र तरूण लगायत भातृ संघहरूको भूमिकाले प्रचारप्रसारमा सक्रियता बढी भएकाले नेपाली कांग्रेस विजयी भएको मेरो बुझाई छ । धेरै वडा जितेको प्रसंगमा यस अघिका स्थानीय निर्वाचनहरूमा पटक÷पटक एमाले विजयी भएर पनि काम गर्न नसकेको अवस्था साथै लामो समयसम्म स्थानीय तहको निर्वाचन नहुनु र कांग्रेसका उम्मेद्वारप्रति मतदाताहरूको आस्था बढेका कारण हामीले धेरै वडा जितेको जस्तो लाग्छ ।
तपाईं अनुशासन समिति संयोजक पनि हुनुहुन्छ । अन्तरघात भयो भन्नेमा कतिको विस्वस्त हुनुहुन्छ ?
मतगणनाको समयमा मतपत्रहरूमा लगाइएका स्वस्तिक छापहरूलाई मूल्यांकन गर्दा अन्तरघात भएको पूर्णरूपले पुष्टि हुन्छ । यदि कांग्रेसका कार्यकर्ता हुँ भन्नेहरूले इमान्दारपूर्वक चुनाव चिन्ह रूखमा मात्र मतदान गरेको भए नेपाली कांग्रेसले अझ बढी संख्यामा विजयी हुनेमा कुनै शंका थिएन । कतिपय वडामा झिनो मतान्तरले कांग्रेसका उम्मेद्वारहरू पराजित भएका छन् । यसलाई मूल्यांकन गर्ने हो भने अन्तरघातीहरूकै कारण हामीले बहुमत ल्याउन सकेनौं भन्ने मलाई लाग्छ । प्रष्टसँग भन्नु पर्दा वडा नं. ४ का सर्वजित भण्डारी, वडा नं. ९ का वडाध्यक्ष उम्मेद्वार समिर तुम्बाहाम्फे र उपमेयरका उम्मेद्वार सीता कार्कीलगायतका उम्मेद्वारहरूले अन्तरघात नभएको भए निश्चित रूपमा विजयी हासिल गर्ने थिए भन्ने मैले अनुमान गरेको छु ।
उनीहरूको पहिचान गरेर कस्तो कारवाहीको प्रक्रिया अगाडि बढाउ“दै हुनुहुन्छ ?
हामीले हरेक वडामा समिक्षा बैठक राखेका छौं । निर्वाचनताका विशेष साथीहरूलाई अन्तरघातीहरूको पहिचान गर्न परिचालन गरेका थियौं । उनीहरूले अनुशासन समितिमा रिपोर्ट पनि बुझाई सकेका छन् । हामीले त्यसलाई जस्ताको त्यस्तै जिल्ला समितिमा पठाइ सकेका छौं । अब जिल्लाले छानबिन गरेर केन्द्रीय समितिमा पठाउने छ । केन्द्रले नै कस्तो कारवाही गर्ने हो भन्ने कुराको निर्णय गर्ने छ ।
प्रसंग बदलौं, स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै प्रदेश र केन्द्रको निर्वाचन पनि यही माघभित्र गर्नुपर्ने देखिन्छ । तपाईंले यी दुई निर्वाचनमा उम्मेद्वारी दिने सोच बनाउनु भएको छ की छैन ?
मैले चाहेर मात्र उम्मेद्वारी पाउने होइन, चाहना सबैको हुन्छ । त्यस्तो समयमा आफूले गरेका कामको फलको आशा जस्ले पनि राख्छ । त्यसैमा मैले पनि प्रदेशको निर्वाचनमा उम्मेद्वारी बन्ने आकांक्षा राखेको छु । पार्टीले पत्यायो भने मैले उम्मेद्वार पाएको क्षेत्रबाट जितेर पनि देखाउने छु । तर, पार्टीले टिकट दियो भनेमात्र मेरो उम्मेद्वारी आउने हो नत्र पार्टीले जसलाई टिकट दिन्छ उसलाई विजयी गराउन लाग्नेछु । हिजो पनि पार्टीले मलाई विश्वास गरेर जिम्मेवारी दिएको थियो । उक्त जिम्मेवारी अनुसार मैले कांग्रेसका उम्मेद्वाहरूलाई विजयी गराउने भूमिकामा कुनै कसर बाँकी राखिन । अर्काे कुरा मैले यति गरे, त्यति गरे भन्नु भन्दा पनि त्यो पार्टीका आम कार्यकर्ताहरूले मूल्यांकन गर्ने हो ।
अन्य राजनीतिक दलका नेताहरू कांग्रेसभन्दा बढी राष्ट्रवादी हुँ भन्ने दावी गर्छन् यस प्रति तपाईको भनाई के छ ?
मुलुकको राष्ट्रियताको बारेमा म व्यक्तिगत रूपमा ज्यादै संबेदनशील व्यक्ति हुँ । म नेपालीको मौलिक हक अधिकार प्रति सचेत छु । सार्वभौमिकताप्रति विस्वस्त छु । तर, कुरा रह्यो राष्ट्रियताको, राष्ट्र भनेको भूगोल मात्र होइन । त्यहाँको शासन शैली पनि हो । हिमाल, पहाड, तराईमा बसोवास गर्ने आम नागरिकहरूले उठाएको आवाजलाई सम्बोधन गर्न सक्नु नै सबैभन्दा ठूलो राष्ट्रियता हो । त्यसबाट निकालिएको निकास नै जनताको अधिकार हो । मेरो बुझाईमा अन्य राजनीतिक दलहरू ‘कोरा’ राष्ट्रवादको कुरा गर्छन् । तर, त्यो राष्ट्रवाद निरंकुशतामा आधारित हुन्छ, तानाशाही व्यवस्थाको जडशुत्रमा अडिएको हुन्छ । त्यस्तो राष्ट्रवादको पक्षमा कांग्रेस छैन । राष्ट्रियता लोकतन्त्र र समाजवाद कांग्रेसको राष्ट्रियता हो । मेरो बुझाई यस्तै छ ।
र, अन्त्यमा …. ?
स्थानीय तह निर्वाचनमा घाम, पानी, भोक, तिर्खा नभनी कांग्रेसका उम्मेद्वारहरूलाई निर्वाचित गराउन खट्नु हुने मोरङ क्षेत्र नं. ९ अन्तरगतका उर्लाबारी र लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिकाभित्र वसोबास गर्ने पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, संघ संस्था, कांग्रेसप्रति आस्थावान मतदाता लगायतका सम्पूर्ण महानुभावहरूलाई कांग्रेसको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।

August 8, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal